बिर्तामोड।
झापाको बिर्तामोडमा ठुलो परिमाणको लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई ब्राउन सुगरसहित लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले संयुक्त रुपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–९ का २६ वर्षीय टेकराज साह र सोही स्थानका २४ वर्षीय विकास मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले साहको साथबाट ०.५ मिलिग्राम र मर्डीको साथबाट ४.५ मिलिग्राम ब्राउन सुगर बरामद गरेपछि नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा बिर्तामोड– १ मा डेरा गरी बस्ने मर्डीको कोठाबाट १४२ दशमलव ३७ मिलिग्राम ब्राउन सुगर र २ लाख ६९ हजार ३ सय रुपैयाँ बरामद गरेको थियो। प्रहरीले बरामद गरेको १४६ ग्राम ब्राउन सुगरको नेपाली बजार मूल्य करिब ७३ लाख रुपैयाँ रहेको जनाइएको छ ।
प्रहरीले कोठाबाट एक थान डिजिटल तराजु, एउटा क्यामरा र एउटा मोटरसाइकल समेत बरामद गरेको छ । ब्राउन सुगरसहित नियन्त्रणमा लिएका दुवै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।