काठमाडौं ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा अध्यक्षमा उम्मेदवार घोषणा गरेको कुल आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने बताएका छन् । उनले मध्यपूर्व, मलेसियालगायतका मुलुकमा काम गर्ने नेपालीहरूको सुरक्षामा समेत  विशेष ध्यान दिने बताएका छन् ।

आचार्यले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने बताए । विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवद्र्धनका लागि अभियान चलाउने उनको योजना रहेको छ । प्रवासी नेपालीहरूको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधनगर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापनागर्ने घोषणा पनि आचार्यले गरे ।

नेपालमा गैरआवासीय नेपालीहरुको लगानी मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि आफूले पहल गर्ने आचार्यले बताए । आचार्यको उम्मेदवारीलाई संघका ६५ मध्ये झण्डै दुइ तिहाई राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूले समर्थन गरेका छन् । आचार्यले अगाडि सारेका एजेण्डा र प्रतिबद्धतासँग सहमति जनाउँदै आइसीसीकाअन्य पदमा पनि उम्मेदवारी घोषणा भएको छ । 

सोही कार्यक्रममा एनसीसी अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।  एनआरएनएका संस्थापक महासचिव तथा पूर्व राजदूत भीम उदासले आचार्यलाई शुभकामनादिँदै विदेशमा रहेका नेपालीहरूलाई मतदानअधिकार दिलाउन तथा दोहोरो कर हटाउने सम्झौताका लागि पहल गर्न सुझाव दिएका छन् ।  

घोषणासभामा एनआरएनए उपाध्यक्ष मन केसी, आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, एसी शेर्पा, हरिबोल भण्डारी, सचिव आरके शर्मा, एनसीसी अमेरिकाका सल्लाहकार वेद खरेल, पूर्व कोषाध्यक्ष हिक्मत थापालगायतले शुभकामना दिएका थिए ।

त्यस्तै, गैरआवासीय नेपाली अभियन्ताहरू जानकी गुरुङ, आरके शर्मा, प्रवीण गुरुङ, राज रेग्मी, खगेन्द्रन्यौपाने, नारायण आचार्य, मनोज गोर्खाली, भोमालिम्बु, हिमाल गुरुङ लगायतले कुल आचार्यको टिमबाट विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।