काठमाडौं । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । विश्वका विभिन्न देशका एनआरएनए प्रतिनिधि र अगुवाहरूको उपस्थितिमा काठमाडौंमा आइतबार आचार्यले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एनआरएनएका पूर्व उपाध्यक्ष आचार्यले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आइएलओको सहयोगबाट सञ्चालित परियोजनामा भएको अनियमतिताको छानवीन गर्न माग गरेका छन् ।

आचार्यले आफू निर्वाचित भए संस्था भित्र गरिएका अनियमितताहरूलाई बाहिर ल्याउने घोषणा गरेका छन् । उनले संघभित्र सानो समूहले चरम दुरुपयोग गरिसकेपछि ठूलो समूहमाथि दोष लगाउने गरेको बताए । 

‘एनआरएनएलाई सही अर्थमा आमप्रवासी नेपालीहरूको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णतादिने छु, पैतृक सम्पतिको अधिकार, राहदानीसहित तेश्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने छु,’ आचार्यले भने ।

अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या पाँचलाख पु¥याउने र राष्ट्रिय समन्वय परिषद्हरूको संख्या कम्तिमा एक सय पु¥याउने घोषणा गरेका छन् ।  हाल एनसीसीको संख्या ८४ रहे पनि कतिपय एनसीसीहरू निष्क्रिय रहेका छन् । संघका पञ्जीकृत सदस्यहरूको संख्या एक लाखको हाराहारीमा छ ।

गैरआवासीय नेपालीहरूलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरूलाई पनि जोड्ने आचार्यको योजना रहेको छ । उनले थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुलअफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने घोषणा गरे ।