बिर्तामोड ।
नेपालीहरुको सवैभन्दा ठूला पर्व मानिएका बडादर्शै, तिहार र छठ पर्व नजिकिदै जाँदा बजारमा पहलपहल बढेपनि व्यापारमा खासै सुधार नआएको व्यवसायीहरु बताउछन् ।
अघिल्ला बर्ष दशैं, तिहार र छठहरुमा यो समय किनवेच गर्नेको पसल तथा बजारमा घुइँचो हुने गरेकोे थियो । तर, यस बर्ष भने बजार तथा पसलमा घुइँचो देखिएपनि किनवेच कम भएको व्यवसायीहरुको भनाई छ । ब्यवसायीहरुका अनुसार दशैं नजिकेसँगै ग्राहक क्रमश बढ्ने छन् ।
झापाको बिर्तामोडस्थित एवान फेशन वेयर सञ्चालक दिनेश श्रेष्ठले अघिल्ला बर्षभन्दा यसबर्ष व्यापार घट्ने बताए । उनले कोरोनाका कारण सवैमा आर्थिक संकट भएकाले व्यापार भने जस्तो नहुने बताए । ‘असोज १४÷१५ गतेदेखि व्यापारमा केहि सुधार हुने विश्वास छ’ व्यवसायी श्रेष्ठले भने ‘पहिला बिर्तामोड केन्द्रित हुने ग्राहक अहिले चोक–चोकमा भएका पसलबाटै सामान खरिद थालेका छन् ।’ पसलहरु अत्याधिक मात्रमा वढेकाले पनि व्यापार खस्कदै गएको उनको भनाई छ ।
बिर्तामोडस्थित जगदम्बा भण्डारका प्रोपाराइटर पवन तिवारीले पनि खाद्यन्नमा पनि खासै व्यापार नभएको बताए । उनले पनि कोरोना कहरले अघिका वर्ष जस्तो यस बर्ष व्यापार नभएको बताए । अति आवश्यक बस्तु बिक्री हुने गरेको बताउँदै उनले कोरोनाले सवैलाई आर्थिक संकटमा पारेकाले बिक्रीमा कमि आएको बताए । उनले सडकमा चहलपहल छ तर सामाग्री किनवेचमा अघिल्ला बर्ष जस्तो नभएको बताउँदै क्रमश किनवेचमा चहलपहल वढ्न सक्ने बताए ।
मामा कलेक्शनका प्रोपाराइटर विनोद शाहले यस बर्ष कपडा बिक्रीमा कमि आएको बताए । उनले दशैं नजिकिदै जाँदा क्रमश ग्राहक पनि वढ्दै जाने अपेक्षा भएको बताए ।
अहिले बिर्तामोडका पसल, बजार, व्यसवाय सवै सञ्चालनमा छन् । मानिसको चहलपहल पनि राम्रै छ तर, व्यापार व्यवसाय भने सोचेजस्तो नभएको व्यापारीहरुको भनाई छ ।