मेचीनगर ।
मेचीनगर–९ स्थित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा बुधवार संस्थाको सभाहल धुलाबारीमा सम्पन्न भएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उनले सदस्य, सञ्चालक, कर्मचारी बीचको एकता र विश्वासले मात्र सहकारी मजबुत हुने बताए ।
सहकारी संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको सभापतित्व भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । २०५६ सालमा ३० जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल २८३१ सदस्य संख्या, २ करोड १५ लाख ५३ हजार ४ सय रुपैयाँ शेयर पूँजी र १२ करोड ८२ लाख ४२ हजार ९९६ रुपैयाँ ५९ पैसा निक्षेप तथा १० करोड ६० लाख ९९ हजार ९८९ रुपैयाँ ६१ पैसा ऋण लगानी रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले सदस्यहरुको हितलाई ध्यानमा राख्दै सदस्य राहत कार्यक्रम निर्देशिका २०७३ संशोधन २०७७ जारी गरेर विभिन्न राहत कार्यक्रम समेत कार्यान्वयनमा ल्याएको छ । आफ्ना सदस्यलाई कुनै किसिमको क्यान्सर रोग लागेमा ५० हजारसम्म उपचार सहयोग, सदस्यको मृत्यु भएमा परिवारलाई ५० हजार, मुटु, कलेजो, फोक्सो लगायतको अप्रेसन बापत ३० हजार, मिर्गौलाको बिरामीलाई डायलासिस तथा दुर्घटना भई गम्भीर किसिमको अप्रेसन गर्नु परेमा २५ हजार, टाउको तथा नसा सम्बन्धी रोगको अप्रेसनको लागि २० हजार, पित्तथैलीको अप्रेसन गर्नको लागि १० हजार लगायत विभिन्न शीर्षकमा आर्थिक सहयोग गर्ने अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा सहकारी विभागका अधिकृत डिल्ली दाहाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सदस्य राजु धिमालले गरेका थिए ।