काँकरभिट्टा ।

मेचीनगरमा भोलीदेखि ‘मेचीनगर युवा कप–२०७८’ सुरु हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर नगर कमिटिले आयोजना गरेको फुटबल प्रतियोगितामा नगरका २० टिम सहभागी हुने आयोजकले जनाएको छ ।  

बुधबार काँकरभिट्टा माविको खेल मैदानमा प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । कोभिड –१९ को प्रभावपछि सम्भवत जिल्लामै पहिलो पटक मेचीनगरमा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता अवधि भर नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरिने आयोजकले दावी गरेको छ । सो क्रममा खेलाडीहरुको स्वास्थ्य अवस्थाको चेकजाँच, पिसीआर परीक्षण गराएको रिपोर्ट, मास्क, सेनिटाइजर तथा खेल मैदानमा दर्शक तथा सहभागीहरुमा भौतिक दुरी कायम गराइने आयोजक कमिटिले बताएको छ ।

मेचीनगर ६ काँकरभिट्टास्थित काँकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद २० हजार रुपैयाँ, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्ता, उत्कृष्ट फरवार्ड, सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी तथा मेडल प्रदान गरिने आयोजक समितिका अध्यक्ष मानबहादुर तामाङले बताए । शुक्रबारबाट सुरु हुने प्रतियोगिता असोज ८ गते शुक्रबार सम्पन्न हुनेछ ।