बिर्तामोड । 

शिक्षा बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडले संस्थाको सामाजिक उत्तरदायित्व अभियान अन्तरगत अपाङता भएका बालबालिकालाई सहयोग गरेको छ । ‘शिक्षासँग बालबालिका’ कार्यक्रम अन्तरगत बाल गृहमा आश्रित अपाङ्गता भएका बालबालिकाका लागि सहकारीले खाद्य सहायता गरेको हो ।

बाल दिवसको अवसरमा झापाको अर्जुनधारा–६ स्थित कप्तानवारीमा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रलाई मंगलवार खाद्य सहायता उपलब्ध गराइएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । ‘केन्द्रमा आश्रित अपाङ्गता भएका बालबालिकाको तत्कालको आवश्यकता बुझेर खाद्यान्नसहित दैनिक उपभोग्य र स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो’, अध्यक्ष न्यौपानेले भने ।

संस्थाको नवौँ वार्षिकोत्सवको अवसरमा अपाङ्गता भएका बालबालिकालाई थोरै भएपनि सहयोग गरेको संस्थाका सञ्चालक सदस्य हेमराज मिश्रले बताए । आवासीय रुपमा रहेका बालबालिकालाई सहकारीले चामल, चिउरा, दाल, तेल, चिनी, मसला, चना, चियापत्ती आलु लगायतका खाद्य सामग्री उपलब्ध गराएको सञ्चालक सदस्य मिश्रले जानकारी दिए । उनका अनुसार मास्क, सेनिटाइजर, फिनेलसहितका स्वास्थ्य सामग्री पनि प्रदान गरिएको छ ।

खाद्य सहायता कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका वडा सदस्य अर्जुन मेचेले सदस्यको हित र सामाजिक उत्तरदायित्व निर्वाहमा शिक्षा बहुउद्देश्यीय सहकारीको योगदान प्रशंसनीय रहेको बताए । कार्यक्रममा संस्थाका लेखा समिति सदस्य यामनाथ खरेल, शिक्षा शिकोप निकेतन मण्टेश्वरीकी प्रिन्सिपल पवित्रा कट्टेल, कर्मचारी दुर्गाप्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो । प्रिन्सिपल कट्टेलले व्यक्तिगत रुपमा केन्द्रलाई एक हजार रुपैयाँ सहयोग गरेकी छन् ।   

सरोकार केन्द्रमा झापा र पाँचथरका १० जना बालबालिका आश्रित रहँदै आएका छन् । दाताको सहयोगका भरमा केन्द्र सञ्चालन हुँदै आएको छ । दाताले केन्द्रको आवश्यकताका आधारमा सहयोग गर्दै आएको संस्थाका सञ्चालक कृष्ण दुलाल बताउँछन् । ‘दाताले के आवश्यक छ भनेर बुझेपछि सहयोग गर्दै आउनु भएको छ’, दुलालले भने, ‘शिक्षा बहुउद्देश्यीय सहकारीको सहयोगप्रति आभारी छौँ ।’