बिर्तामोड ।
बिर्तामोड उद्योग बाणिज्य संघ बिर्तामोडमा आवद्ध ब्यवसायीहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । चाडपर्व नजीकिएसँगै हुने भीडभाडलाई मध्यनजर तथा संक्रमणको जोखिमलाई नियन्त्रण गर्दै व्यवसायीलाई खोप लगाउन लागिएको हो । संघको पहलमा लगाउन लागिएको भेरोसिल खोपको पहिलो मात्र हो । बिर्तामोडका ब्यवसायीहरुलाई आगामी असोज २ र ३ गते दुई दिन कोरोना विरुद्धको खोप लगाउने निर्णय भएको बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।
खोप लगाउनका लागि आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ मा दर्ता वा नवीकरण भएका उद्योगी व्यवसायीलाई नेपाल सरकारले जारी गरेको परिचय पत्र र पानको फोटोकपी लिएर आएमा संघको रेकर्डमा दर्ता भएकालाई मात्र खोप लगाइने निर्णय भएको संघका प्रवक्ता सञ्जीव घिमिरेले बताए ।
खोप लगाउन पहिला आउनेलाई पहिलो प्राथमिकता दिइने पहिलो दिन एक हजार र दोस्रो दिन ९ सय ५० जनालाई मात्र खोप लगाइने उनले जानकारी दिए । खोप बिर्तामोड नगरपालिकाका स्वास्थ्यकर्मीले लगाइदिने जनाइएको छ ।
स्थानीय र प्रदेशसरकारसँग पटक–पटक खोप लगाउन पहल तथा आग्रह गरेपनि ब्यवसायीलाई सरकारले प्राथमिकता नदिएपछि बिर्तामोड उद्योग वाणिज्य संघले आफ्नै पहलमा ब्यवसायीहरुलाई खोप लगाउन लागेको संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए ।