काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गरेका हुन्।
वाल दिवस आज विभिन्न कार्यक्रममा गर्दै मनाइँदैछ । ‘बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मतहातका कार्यालय एवं बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गरेर दिवस मनाउने कार्यक्रम रहेको छ ।
प्रम देउवाले कोरोनाबाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्याको व्यवस्था गरिएको पनि जानकारी दिएका छन् । कोरोनाको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।
नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । विक्रम सम्वत २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ पछि भने भदौ २९ गते मनाउन थालिएको हो ।