सुरुङ्गा ।
बडा दशैंको अवसर पारेर झापाको कनकाईमा वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना गरेको हो । समितिले यस अघि घैलाडुबाको आदर्श माविको खेल मैदानमा, दोस्रो पटक जामुनखाडी सिमसार क्षेत्रमा विभिन्न खेलकुदका कार्यक्रम संचालन गरिसकेको बताइएको छ ।
समितिले असोज १६ देखि २५ गते सम्म फुटवल प्रतियोगिता कनकाई माविको खेल मैदानमा संचालन हुने आयोजक समितिका अध्यक्ष रविन्द्र लम्सालले बताएका छन् । समितिको वार्षिक कार्यक्रम अनुसार नै फुटवल प्रतियोगिता संचालन हुने भएको अध्यक्ष लम्सालले जानकारी दिए ।
कनकाई नगरलाई खेलकुदको हब बनाउँने योजना अनुुरुप निर्माण गरिएका वार्षिक कार्ययोजनाहरु कोरोना कहरसँगै निष्क्रिय बनेपछि हाल केहि सहज भएको अवस्थालाई मध्यनजर गर्दै वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष लम्सालले बताए । प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार नगद साथै प्रमाण पत्र र ट्रफी रहेको बताइएको छ । यसका साथै सेमी फाइनलमा पुगेर पराजीत हुने दुईवटा टिमलाई समेत सान्त्वना स्वरुप ५÷५ हजार नगद प्रदान गरिने जनाइएको छ ।
कार्यक्रममा कनकाई नगरका नौ वटै वडास्तरीय खेलकुद विकास समितिलाई २÷२ वटा फुटबल हस्तान्तरण गरिएको बताईएको छ । यसरी निर्माण गरिएका उपसमितिहरुमा खेल मैदान व्यवस्थापन उपसमितिमा संयोजक दिलकुुुमार कार्की, स्टेज व्यवस्थापन उपसमितिको संयोजकमा त्रिलोचन चिरीया, पुरस्कार व्यवस्थापन उपसमिति संयोजकमा गोविन्द उप्रेती, प्रचार प्रसार उपसमितिको संयोजकमा राम निरौला, टिम व्यवस्थापन उपसमिति संयोजकमा कैलाश कार्की, स्वयं सेवक परिचालन उपसमिति संयोजकमा रविन ढुङ्गाना, प्राथमिक उपचार व्यवस्थापन उपसमिति संयोजकमा सिरस खरेल, अतिथि सत्कार व्यवस्थापन उपसमिति संयोजकमा सारिका गिरी रहेको बताइएको छ ।