- उद्धव पुरी
बिर्तामोड ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–२ झापाले प्रदेश नं. १ लाई लक्षित गरी दशैको लागि सुपथ मूल्यमा स्वस्थ खसी, बोका, भेडा र च्याङ्ग्रा खरिद बिक्री गर्ने भएको छ ।
कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनले सम्पूर्ण हाट बजार तथा पशुहाटसमेत बन्द भएकोले बाख्रापालक किसान मारमा परेको भन्दै संस्थाले जिउँदो खसीबोका तथा भेडा च्याङ्ग्रा खरिदबिक्री गरिदिने भएको हो ।
बाख्रापालक कृषकले उत्पादन गरेका खसी, बोका, भेडा र च्याङ्ग्रा उचित मूल्यमा विक्री नभएको तथा निश्चित खुलेका बजार क्षेत्रमा बिचौलीयाका कारण खसी बोका, भेडा तथा च्याङ्ग्राको मासुको मूल्य आकाशिएकोले संस्थाले सो अभियान शुरु गरेको हो । कृषक तथा सर्वसाधारण समुदायको हितका लागि संस्थाले खसीबोका खरिद तथा बिक्री गरिदिन लागेको संस्थाको लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले जानकारी दिए । उनका अनुसार हाल जिउँदो खसी ५ सय ६० रुपैयाँ प्रतिकेजीका दरले बिक्री भइरहेको छ ।
सहारा नेपाल साकोस पशु चिकित्सक डा. कमलेश्वर भाटले नेपालमै यस प्रकारको खसीबोका खरिद बिक्री सरकारलेसम्म गर्न नसकेको बताए । सहारा नेपालले नेपालमै पहिलो पटक यो पद्धति शुरु गरेको उनको भनाई छ । पुरानो परम्परा अनुसार खसीबोकाको ढाड छामेर उचालेर खरिद बिक्री गर्दा कहिले किन्नेलाई कहिले खरिद गर्नेलाई घाटा÷नाफा हुने गरेको उनले बताए ।
बिर्तामोडस्थित पुरानो भद्रपुररोडमा बस्नेत फ्रेस हाउस सञ्चालन गर्दै आएका व्यवसायीले पहिले अनुमानका आधारमा खसीबोका खरिद गर्दा सधै घाटा हुने गरेको बताए । सधैं घाटा भएपछि व्यवसाय नै परिवर्तन गर्न लागेकोवेला जिउँदो खसी तौलेर किन्न पाएपछि व्यसायमा हौसला बढेर थप मासु व्यवसायसम्म विस्तार गरेका छन् । यसरी खसी बोका खरिद गरेर मासु बेच्दा घाटा हुन छोडेको उनले बताए ।
विविध सामाजिक कार्यमा झापामासहित प्रदेश नं. १ भरीनै अग्रणी कार्य गर्दै आएको संस्थाले हाल यो अभियान सञ्चालनमा ल्याएको छ ।