काठमाडौं ।

 कोरोना भाइरस सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको देखिएको छ ।  यसलाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या बताउँदै यस्तो समस्याले कतिपयको ज्यानै लिन सक्ने अवस्था देखिएको जनाएका छन् ।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले कोरोना सङ्क्रमित निको भएपछि पोस्ट कोभिडका लक्षण देखिएको जानकारी दिएका छन् । 

 उनले पोस्ट कोभिडका कारण कम्मर, ढाड, मस्तिष्कघात, पक्षघात साथै मुटु हल्लिएको अनुभूति हुने, फोक्सो, मिर्गौला, छाला, आँखाको समस्या हुने जानकारी दिए ।  पोस्ट कोभिड भएका बिरामीमा मनोपरामर्श आवश्यक रहेको बताउँदै उनले विशेष गरी पोस्ट कोभिडका लक्षण सघन कक्षमा पुगेर निको भएका बिरामीमा देखिएको बताए । 

अस्पतालमा हुँदा अन्य मानिसको ज्यान गएको देख्दा आफूलाई पनि यस्तै हुन्छ कि भन्ने मनोभाव हुन्छ । फेरि पनि समस्या आउँदा धेरै डराउने भएका कारण मनोपरामर्शको आवश्यकता रहेको जानकारी दिए । पोस्ट कोभिडका लक्षण युवामा नै धेरै देखिएको र अस्पतालमा ५० प्रतिशत जति यस्ता बिरामी आएको डा. पुनको भनाईछ ।