झापा ।
प्रत्येक बर्ष मनाउँदै आएको नेपाली महिलाहरुको महान चाडको रुपमा रहेको हरितालिका तीजको दर आज खाने गरिन्छ । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने चलन रहेको छ ।
भनिन्छ देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको थिइन् । त्यो कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीजको व्रत बस्ने पराम्परा छ ।
दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परासमेत रहिआएको छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार व्रत बस्ने भएकाले त्यसका लागि शक्ति प्राप्त गर्न अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिन्छ ।