बिर्तामोड ।
झापा बिर्तामोडको वीएण्डसी टिचिङ हस्पिटल प्रशासनले उपचार खर्च तिर्न नसकेर दम्पतिलाई बन्धक बनाइएको भनिएको समाचारको खण्डन गरेको छ ।
पीडित पक्षको समेत सहभागितामा पत्रकार सम्मेलन गरी अस्पताल प्रशासनले उक्त समाचारको सत्यतामाथि प्रश्न उठाएको हो । राजधानीबाट प्रकाशित केही सञ्चारमाध्यमले दुर्घटनामा घाइते भएका झापा शिवसताक्षी–२ का यामबहादुर श्रेष्ठ र उनकी श्रीमती सनमलाई अस्पतालले उपचार खर्च तिर्न नसकेपछि बन्धक बनाएको समाचार प्रकाशन प्रशारण गरेका थिए ।
अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले श्रेष्ठ दम्पतिलाई अस्पतालले बन्धक नबनाएको बताए । ‘उहाँहरुलाई ठक्कर दिने ट्रक मालिक सम्पर्कमा नआएको र घटनाका विषयमा प्रशासनमा मुद्दासमेत चलिरहेकाले उहाँहरु यही हुनुहुन्छ’, गिरीले भने, ‘पैसा तिर्न नसकेर अस्पतालले बन्धक बनाएको भन्ने खवर गलत हो ।’
पीडित पक्षले पनि अस्पतालले बन्धक बनाएको भन्ने समाचार आफैँमा गलत भएको जनाएको छ । ‘दाजुभाउजुको ज्यान बचाउन अस्पतालले खेलेको भुमिका मेरो जीवनका लागि एउटा खुसीको क्षण हो’, यामबहादुरका भाई खेमबहादुरले भने ‘वीएण्डसीले गर्दा नै आज दाजुभाउजु मृत्युको मुखबाट फर्किनु भएको छ ।’
सञ्चारमाध्यममा श्रेष्ठ दम्पति बन्धक बनाइएको समाचार आएकोप्रति आपत्ति जनाउँदै उनले समाचार प्रकाशनका लागि कहीँकतै कसैलाई अनुमति नदिइएको बताए । ‘ठक्कर दिने ट्रक मालिक सम्पर्कमा नरहेको र प्रशासनमा मुद्दा चलिरहेकाले हामी आफैँ अस्पतालमा दवावका लागि बसिरहेका छौँ’, उनले भने ‘मुद्दा टुङ्गिना साथ निस्कन सक्छौँ । अस्पतालले रोकेको छैन ।’
पीडितका मामा कृष्णकुमार राईले पीडित परिवारले अनुमति नदिँदा नदिँदै नियोजित रुपमा समाचार प्रकाशन भएकोेप्रति आपत्ति जनाए ।
गत फागुन १९ गते पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको कनकाईमा को १ ख १६८४ नम्वरको ट्रकले प्रदेश १–०१–००१ च ०१६७ नम्बरको कार र प्रदेश १–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त ट्रक बिराटनगरस्थित रिजाल ग्याँस उद्योग हो । घटनापछि उद्योगका तर्फबाट पीडितको उपचारका लागि डेढलाख रुपैयाँ जम्मा भएको थियो । त्यस यता लामो समयदेखि उद्योगपक्ष अस्पताल र विरामीको सम्पर्कमा छैन ।