झापा ।

 वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीको विभत्स हत्या भएको आज १७ वर्ष पूरा भएको छ ।  वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ नेपालीको आतंकवादी इस्लामिक संगठनले विभत्स हत्या गरेको थियो ।  नेपालमा २०६१ साल भदौ १६ अर्थात आजकै दिन आफन्त र सर्वसाधारणले वैदेशिक रोजगारीमा पठाउने म्यानपावर लगायतमा आक्रमण गरेका थिए । उक्त हत्याकाण्ड पछि झापासहित देशका विभिन्न शहरहरुमा अवस्था तनावग्रस्त बनेको थियो । ठाउँठाउँमा आन्दोलन भएका थिए । विभिन्न म्यानपावर, सञ्चारगृह, धार्मिक प्रतिष्ठानमा आक्रमण भएका थिए ।

२०६१ साल भदौ ४ गते १२ जना नेपाली खाना पकाउने तथा सरसफाइ सम्बन्धी कामका लागि जोर्डन हुँदै इराक प्रवेश गरेका थिए । तर उनीहरु आतंकवादी संगठन इस्लामिक समूह अन्सर अल सुन्नाको अपहरणमा परेका थिए । कामको खोजीमा इराक पुगेका उनीहरुले अन्सर अल सुन्नाले अपहरण गरेको थियो ।  उनीहरुले आफ्नो जीवन बचाउनका लागि नेपाल सरकारसँग आग्रह गरेको भिडियो क्लिप बाहिरिएको थियो ।

तर भदौ १५ गते साँझ टाउँको काटिएका १२ जना नेपालीको मृत शरीरको भिडियो क्लिप सार्वजनिक भएलगत्तै नेपालमा भदौ १६ गते तनावग्रस्त भएको थियो । आफ्ना नागरिकको रक्षा गर्न नसकेको भन्दै सर्वसाधारणले सरकारको चर्को आलोचना गरेका थिए ।

आक्रोशित बनेका सर्वसाधारणले   मुस्लिम समुदायको पवित्र स्थान, पवित्र वस्तु लगायत  व्यक्तिमाथि आक्रमण गर्न गरेका थिए । मुस्लिम समुदायका धर्मगुरूदेखि व्यापारी समुदायलाई आक्रमणको तारो बने । सोही घटना पछि नेपाल सरकारले इराक जान लगाएको प्रतिवबन्ध फुकुवा गरेको छैन । नेपालीको हत्यापछि सबैभन्दा बढी म्यानपावर र मेनपावरका एजेन्सी कार्यालय तोडफोड भएको थियो ।