झापा । 

कोरोना भाइरस महामारीका कारण एकपछि अर्को गर्दै सरकारले जारी गरेको लकडाउनका कारण होटल व्यवसाय संकटमा परेको छ ।  कोरोना संक्रमणदर कम गर्र्न जारी गरेको लकडाउनका कारण झापाका होटल व्यवसायीहरु अन्य पेशा अपनाउन बाध्य भएका हुन् ।   करोडौ रुपैयाँ लगानी गरेर सञ्चालन गरिएका होटल सञ्चालनमा समस्या आउँदा होटल व्यवसायी अन्य पेशा अपनाउन बाध्य भएका छन् । २०७७ चैत्र ११ गतेदेखि कोरोना नियन्त्रणका लागि सरकारले देशव्यापी रुपमा लकडाउन गरेको थियो ।

झापाका १० देखि १५ प्रतिशत होटल व्यवसायी पलायन हुँदै अन्य पेशा अपनाउन बाध्य भएका होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन् ।  ‘पहिलो लकडाउनबाट धरासायी वनेको होटल व्यवसाय माथि उठ्न नपाउँदै दोस्रो लकडाउन शुरु भयो’ अध्यक्ष श्रेष्ठले भनिन् ‘होटललाई पहिलाकै अस्थासम्म आइपुग्न अझै २ बर्ष लाग्छ ।’

लकडाउनले लगभग ८० हजार होटल व्यवसायमा आवद्ध कामदार वेरोजगार भएको अध्यक्ष श्रेष्ठले बताइन् । उनले झापामा ७५ प्रतिशत होटलहरु घरभाडामा लिएर सञ्चालन गरेको बताउँदै लकडाउनले गर्दा घरभाडा,वैंकको किस्ता  र व्याज तिर्न समेत समस्या हुँदै आएको बताइन् । कोरोना कहरकै कारण धेरै होटल व्यवसायीले बाध्य भएर पेशा परिवर्तन गरेको र केहिले होटल व्यवसाय नै छोडेको उनले बताइन् ।

झापामा १० हजार भन्दा वढि होटल व्यवसाय रहेको बताउँदै उनले त्यसमा आश्रित ८० हजार भन्दा वढि कामदार वेरोजगार हुने अवस्था पुगेको उनको भनाई छ । उनले भनिन् ‘सरकाले कम्पनीमा दर्ता रहेका होटलहरुलाई विजुली महसुलमा छुट दियो’ तर, साना होटल व्यवसायीले त्यो छुट पाएनन् ।’

होटल व्यवसायी संघ झापाको नेतृत्वमा व्यवसायीहरुले कोरोना खोपका लागि प्रदेश सरकार, स्वास्थ्य कार्यालय झापा र स्थानीयतहमा ज्ञापनपत्र समेत बुझाएपनि हालसम्म कोरोना खोप पाउन नसकेको उनले गुनासो गरिन् । लकडाउन खुकुलो भएसँगै होटलहरु  सञ्चालनमा आएपनि गाहकहहरुको चहलपहल नहुँदा व्यवसाय चौपट भएको उनले बताइन् । २०७७ चैत्र ११ गते सरकारले कोरोनाका कारण लकडाउन गरेपछि होटल व्यवसायीको लगानी बालुवामा पानी सरह भएको छ । 

 तस्वीर : गुगल