काठमाडौं ।
झन्डै डेढ वर्षदेखि रोकिएको दक्षिण कोरियामा रोजगारीका लागि नेपाली कामदार पठाउने बाटो खुलेको छ । सरकारले कार्यविधि नै संशोधन गर्दै काठमाडौंबाट सीधै सिओलसम्मको हवाई टिकट खरिदका लागि बुधबार टेन्डर आह्वान गरेको हो।
सरकारले आर्थिक वर्ष २०७९÷०७९ वा कोरोना महामारीका कारण सीधा उडानमार्फत पठाउनुपर्ने सर्तमध्ये जुन पहिला आउँछ, सो अवधिसम्मका लागि हवाई टिकट खरिद गर्न टेन्डर आह्वान गरेको हो।
यसअघि पनि दक्षिण कोरिया रोजगारीका लागि पठाउने टेन्डर आह्वान हुने गरेको थियो । तर, सीधै दक्षिण कोरिया पठाउनुपर्ने सर्त भने थिएन। यसपटक कोरोना जोखिमका कारण कोरियाले सीधै सीओल पुग्नुपर्ने सर्त राखेपछि सरकारले कार्यविधि संशोधन गरी त्यसअनुसार टेन्डर आह्वान गरेको हो। इजजात प्राप्त संस्थाहरूलाई ३१ दिनभित्र विद्युतीय बोलपत्र पेस गर्न सरकारले आव्हान गरेको छ। नयाँ टेन्डरअनुसार लाग्ने हवाईभाडा पनि कामदारले नै तिर्नेछन्। बढी भाडा तिरेर पनि श्रमिक कोरिया जान तयार भएपछि सरकारले कार्यविधि संशोधन गरी बाटो खुलाएको हो। नेपालबाट दक्षिण कोरियासम्म कोरियन एयरलाइन्सले मात्रै सीधा उडान गर्छ।
कोरियाले कामदारले त्यहाँ आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्ने र कोरोना बिमा गर्नुपर्ने सर्त पनि दक्षिण कोरियाले राखेको छ। तर मुख्य समस्या उडान देखिएपछि कार्यविधि संशोधन गर्नुपरेको हो। कोरोना संक्रमण सुरु भएपछि अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै रोजगारीका लागि कामदार दक्षिण कोरिया पठाउन पनि बन्द भएको थियो। झन्डै ७ हजार नियमित र पुनः जान लागेका ३ हजार कामदार रोकिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। कन्फर्मेसन लेटर आएको ६ महिनाभित्र कोरिया पुगिसक्नुपर्ने प्रावधान छ। तर यसबीच म्याद सकिएकाहरूको एक वर्ष म्याद थप भएको ईपीएस कोरिया शाखाले जनाएको छ।