बिर्तामोड ।
झापा बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार महिलाको पाठेघर क्यान्सरको निशूल्क परीक्षण गरिदिने भएको छ । अस्पतालले पहिलो चरणमा एक हजार महिलाको परीक्षण गरिने भएको हो ।अस्पतालका सिइओ डा. निराजन प्रसाईले पत्रकार भेटघाटमा सोमवार उक्त जानकारी गराएका हुन् । निशूल्क परीक्षणसँगै १ लाख बराबरको उपचार खर्च पनि व्यहोर्ने उनलको भनाई थियो । स्वास्थ्यको पहुँच नपुगेका महिलाको चेतना बढाउन पनि अस्पतालले निशूल्क परीक्षण गर्न लागेको उनले जानकारी दिए ।
अस्पतालले १ हजार गरिब परिवारको स्वास्थ्य बिमा गराउने योजना पनि अघि सारेको उनले बताए । दुवै योजनालाई कोरोना संक्रमणको महामारीलाई मध्यनजर गर्दै सुरुवाती क्रममा थोरै थोरैबाट सुरु गरिने भएको छ । महिलामा पाठेघर क्यान्सर, स्तन क्यान्सर र अण्डादानी क्यान्सरको स्थिति भयावह बन्दै गएको उल्लेख गर्दै डा प्रसाईले अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत दुवै योजना अघि सारिएको बताए । उनले भदौ ६ गतेदेखि निशूल्क ओपीडी सञ्चालसँगै २५ प्रतिशत छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने पनि जानकारी गराए ।
क्यान्सर रोगीलाई मध्यनजर गर्दै आउँदो सातादेखि अन्को फुड सर्भिस सुरु गर्ने योजना रहेको बताइएको छ । डा मुक्ति देवकोटा र क्यान्सर रोगकै नाक, कान र घाँटीका सर्जन डा. बजरंग शाह पूर्वाञ्चल क्यान्सर अस्पतालमा जोडिएका छन् । अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले बर्षेनी ३० देखि ४० हजार क्यान्सरका बिरामी बढेको भन्दै पाठेघर र स्तन क्यान्सर बढी भएको जानकारी दिए । विपन्न नागरिक कोष सञ्चालन गरिसकेको अस्पतालले ५ सय ४० जनालाई सेवा दिइसकेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।