झापा ।
झापामा भदौ १ गतेदेखि लकडाउन खुकुलो बनाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको सोमवार बसेको बैठकले विहान १० देखि बेलुका ६ बजेसम्म सबै पसल, सटर, गाडी खुल्ला गर्ने निर्णय गरेको छ ।
तर, अधिक भीड हुने अत्यावश्यक खाद्यान्न लगायतका पसल विहान ६ बजेदेखि विहान १० बजेसम्म मात्र खुला गर्न पाइने जनाइएको छ ।
डीसीएमसीको बैठकले लकडाउन खुकुलो बनाएता पनि सर्वसाधारण तथा व्यवसायीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ अपनाउन आग्रह गरेको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए ।
मास्क नलगाउने र बेलुका ६ बजेपछि पसल खोल्नेलाई कडा जरिवाना गर्ने प्रशासनले जनाएको छ ।
यसको अर्थ कोरोना संक्रमण घट्यो भन्ने होइन । स्वास्थ्य सुरक्षाका लागि अझ बढी सजग हुने (अनुशासित हुने) दायित्व अब नागरिककै हातमा आएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी लापर्वाही गरिए ७ दिनपछि पूर्ण लकडाउन गर्ने प्रशासनले योजना बनाएको जनाइएको छ ।