मेचीनगर ।

नेकपा माओवादी केन्द्रकी सांसद धर्मशिला चापागाईंले जनयुद्धका घाइतेहरुको उपचार आफूले गरिदिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति आपत्ति जनाएकी छन् । ओली प्रमुख प्रतिपक्षी नेताका रुपमा साउन २६ गते संसदमा बोल्ने क्रममा जनयुद्धका घाइतेको बेवास्ता गरिएको भन्दै उनीहरुको उपचार आफूले गरिदिने बताएका थिए ।

सरकारले ल्याएको साझा न्यूनतम् कार्यक्रम माथि टिप्पणी गर्दै ओलीले भनेका थिए, ‘द्वन्द्वपीडितलाई सम्मान हैन, पहिलो कुरा उनीहरूलाई न्याय दिनुहोस् । तपाईंले बुट्टे खादा ओडाइदिएर द्वन्द्वपीडितलाई अल्मल्याउन खोजेको हो ? घाइतेहरूको उपचार गराउँछु भन्नुहोस् न, शरीरमा गोली भएकाहरूको गोली निकाल्छु भन्नुहोस् न । यदि सरकारले सक्दैन भने शरीरमा गोली भएकाहरूलाई नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा छ, त्यहाँ पठाइदिनुहोस् म गर्छु ।’

यसलाई लिएर चापागाईंले शुक्रबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै ओलीलाई जवाफ फर्काएकी हुन् । ‘ओलीसँगै लडेका धर्मप्रसाद घिमिरे गम्भीर बिरामी थिए । उनी संविधान सभा सदस्य पनि थिए’, उनले भनिन्, ‘उनका परिवारले आर्थिक सहायताका लागि अनुरोध गरेका थिए । तर, प्रधानमन्त्रीले सुनेनन् । उनीहरुले सहायता पाएनन् ।’

चापागाईंले झापा विद्रोहका योद्धा डिगेन्द्र राजवंशीले एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा गरेको आत्महत्याको कुरा पनि उठाइन् । ‘झापा विद्रोहका योद्धा डिगेन्द्र राजवंशीले विरेन एमालेको बल्खु पार्टी कार्यालयमा आत्महत्या गर्नुको कारण के थियो ?’, उनले सोधिन्, ‘आज उहाँ के भन्दै हुनुहुन्छ, जनयुद्धका घाइते पार्टी कार्यालयमा आउनु उपचार गर्छु । दुर्गा अधिकारी र मानकुमार तामाङ कहाँ छन्, ओलीलाई थाहा छ ?’