काठमाडौं ।
स्वास्थ्य सेवा विभागले वैदेशिक रोजगारमा जाने कामदारका लागि अत्यावश्यक मानिएको कोरोना भाइरसविरुद्धको खोपको क्युआर कोडसहितको प्रमाणपत्र सम्बन्धित म्यानपावर कम्पनीको आधिकारिक इमेलमा पठाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भएको छलफलमा उक्त सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले बताएका छन्।
दुई मन्त्रालयबीच भएको सहमति अनुसार वैदेशिक रोजगारीमा जाने कामदारहरुले स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न सक्ने छन् । त्यसका लागि सम्बन्धित इजाजतपत्रवाला संस्थाहरुले विभागमा खोपको रिपोर्ट पठाउनु पर्नेछ । त्यसपश्चात विभागले प्रमाणपत्र म्यानपावरको आधिकारिक इमेलमा पठाउने छ ।
इमेलमा प्राप्त क्युआर कोडसहितको प्रमाणपत्र अन्य कुनै निकायबाट थप प्रमाणीकरण गर्नु नपर्ने छ ।