काठमाडौं ।
आप्रवासी कामदारहरुको हितका पक्षमा काम गर्दै आइरहेको संस्था प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले गरेको एक अध्ययनले नेपाली कामदारहरुले आफ्नो कमाइ गुमाउनु परेको तथाङ्क सार्वजनिक गरेको छ ।
कोरोना भाइरस महामारीका कारण दबाब र बाध्यतामा परी वैदेशिक रोजगारीबाट स्वदेश फर्किने नेपाली कामदारले ज्याला नपाएको तथ्य सार्वजनिक गरेको हो । विज्ञहरुले त्यसलाई ‘श्रमिकहरूको ज्यालामा चोरी भएको बताएका छन् ।
प्रवासी नेपाली समन्वय समितिका महासचिव अञ्जन पोखरेलले ठगिनेमा कागजात नभएका कामदार रहेका बताएका छन् । उनीहरु आफुले पाउनुपर्ने तलब तथा ज्याला पाउन कम्पनीविरुद्ध उजुरी दिने अवस्थामासमेत नभएको बताए । उक्त संस्थाले कोरोना महामारीको विश्वव्यापी संक्रमणपछि रोजगारी गुमाएर घर फर्किएका कामदारहरुले बाध्यताबश आफुले कम्पनीबाट पाउनुपर्ने रकम छोड्नु परेको देखिएको बताएको छ ।
उक्त संस्थाले कोरोना महामारीपछि रोजगारी गुमाएर फर्किएका मध्ये सवा ७ सय नेपाली कामदारलाई आधार बनाएर गरेको अध्ययनमा उक्त कामदारको ज्यालामा ठगी भएको देखिएको बतायो । समितिले ७ सय ३० जना कामदारहरुले नियमितरुपमा पाउनुपर्ने मध्ये ३ करोड ९८ लाख ३५ हजार ६ सय ३२ रुपैयाँ ज्याला छाडेर फर्किएको भन्दै समग्रमा नेपाली कामदारले करोडौं गुमाएको बताएको छ ।
तलब सुविधा छोड्न बाध्य भएका मध्ये वैदेशिक रोजगारीका लागि कतारबाट फर्किएका सबैभन्दा धेरै रहेको बताएको छ । कतारपछि साउदी अरब, बहराइन, यूएई र मलेसियाबाट फर्किएकाहरु रहेको उक्त अध्ययनले जनाएको छ । नेपाली कामदार धेरै प्रकारका रोजगारीमा जाने गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले ठगीमा परेका नेपाली कामदारहरुलाई न्याय दिलाउन मन्त्रालय लाग्ने भन्दै परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाली नियोगहरुसँग समन्वय गर्ने आश्वासन दिए । उनले वैदेशिक रोजगार ऐन अनुसार करार अनुसारको तलब सुविधा नपाई ठगीमा पर्ने कामदारलाई न्याय दिलाउने जिम्मेवारी म्यानपावर कम्पनीको पनि भएको बताए ।