झापा ।

नेपाल–भारतको सीमाबाट बग्ने मेची नदीले बर्षेनि सीमा पिलर बगाउन थालेको छ ।  मेची नदीले सोमबार दिउँसो ४ बजे झापामा एउटा मुख्य सीमा पिलर बगायो । समयमा तटबन्ध गरिएको भए सो सीमा पिलर जोगाउन सकिन्थ्यो– एक स्थानीयले भने ।नदीले तटीय क्षेत्रको कटान गर्ने क्रममा दक्षिणी झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा ११२ नम्बर सीमा पिलर बगाएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका प्रवक्ता तथा डीएसपी प्रेमबहादुर भण्डारीले

जानकारी दिए । केही दिनको अविरल वर्षापछि मेची नदीमा पानीको बहाव बढेको छ ।  मेचीमा पानीको बहाव बढेपछि नदी आसपासमा रहेका दुई दर्जन बढी साना सीमा पिलर पनि डुबानमा परेको डीएसपी भण्डारीले बताए । नदीले तटीय क्षेत्र कटान गर्नेमा क्रममा केही दिनअघि मात्र पिलर नजिकै रहेका रुखहरू बगाएर लगेको थियो । ‘त्यस बेला पिलर मात्र बगाउन बाँकी थियो, अन्ततः नदीले पिलर पनि बगाएर लग्यो– स्थानीय कमल गणेशले भने । पिलर बगाएको दक्षिणतर्फ भारतीय बस्ती छ, पूर्वतर्फ नेपाली बस्ती । ‘समयमा तटबन्ध गरिएको भए सीमा पिलरसँगै तटीय क्षेत्रका जमिन जोगाउन सकिन्थ्यो’– उनले भने ।

मेची नदीले यसरी नै तटीय क्षेत्र कटान गर्दै लैजाने हो भने भारतीय बस्तीसँगै नेपाली बस्ती पनि बगाउने खतरा बढेको भारतीय नागरिक उपेन्द्र साहले बताए । नदीको कटान तीव्र छ, कहिले घर बगाउने हो भन्ने चिन्ता बढेको

उनले बताए ।

११२ सीमा पिलर ननिजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पाठामारीले सुरक्षा दिइरहेको छ । सशस्त्र प्रहरीको पोष्ट पनि बगाउने अवस्थामा पुगेको स्थानीयवासीको भनाइ छ । सो सीमा पिलर जोखिममा रहेको भन्ने बारेमा एक बर्ष अघि नै सम्बन्धित निकायमा जानकारी थियो । 

बगाएसँगै १८ वटा पिलरमा क्षति पुगेको सशस्त्र प्रहरीका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए । गत वर्ष मझौला र साना गरी १७ वटा र यस वर्ष एउटा मुख्य पिलरमा क्षति पुगेको हो ।

 आजको पूर्वाञ्चल दैनिकबाट साभार