झापा ।


कोरोना संक्रमण बढेसँगै झापाका अस्पतालहरुमा बेड अभाव भएको छ । सरकारी र निजी दुवै अस्पतालहरुमा संक्रमितको चाप बढेसँगै बेड अभाव भएको हो । 

मेची प्रादेशिक अस्पताल भद्रपुरमा रहेको ७५ शैय्याको कोभिड उपचार केन्द्र पुरै भरिएको छ । ‘अस्पतालको ६० वटा शैय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । ती सबै शैय्या भरिएको छ’, अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले भने, ‘अक्सिजन चाहिने नयाँ बिरामीलाई भर्ना गर्नै छाडिएको छ ।’

अस्पतालका पाँचवटा आईसीयू कक्षमध्ये तीन वटा कोभिडका विरामीको उपचारका लागि छुट्याइएकोमा सबै शैय्या भरिएको छ ।

बिर्तामोडको बीएन्डसी अस्पतालमा पनि बेड अभाव सुरु भएको छ । जिल्लाकै ठूलो यो अस्पतालमा हाल ८० बढी बरामीको आईसीयूमा उपचार भइरहेको छ । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले भने, ‘कोभिडका लागि अस्पतालले छुट्याएको ३२ शैय्याको आईसीयू सबै बिरामीले भरिएको छ ।’ 

 झापामा सोमबार ८ सय ३९ जनाको कोरोना परीक्षण गरियो । ५८५ जनाको पीसीआर र २५४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो जसमध्ये १४४ महिला र १५८ पुरुष गरी ३०२ जनालाई संक्रमण देखियो । सोमबार नै गौरादहका ७१ वर्षिय बृद्धको मेची अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु भयो । त्यस्तै आइतबार ६ सय २० जनाको कोरोना परीक्षण भएको थियो । जसमध्ये २ सय ४२ जनाको रिपोर्ट पोजेटिभ आयो । शनिबार भएको परीक्षणमा पनि १ सय ४९ संक्रमित देखिएका थिए । झापामा पीसीआर र एन्टिजेन दुवै खाले परीक्षण बढाएसँगै संक्रमितको संख्या पनि बढेको छ । आइतबार पनि २ जना संक्रिमतको मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले गत साताभन्दा भने यो दर कम भएको बताए । गत साता दैनिक संक्रमितको संख्या साढे ४ सयसम्म पुगेको थियो । जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा लागू गरेपछि संक्रमण दर थोरै कम भएको घिमिरेले दाबी गरे । उनका अनुसार मास्क नलगाई भीडभाडमा हिँडडुल गर्ने प्रवृत्तिले मुलतः संक्रमण दर बढेको हो । 

आजको प्रतिदिन दैनिकबाट साभार