विर्तामोड ।
विर्तामोडमा मुख्य कार्यालय भएको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले परिवार गुमाएर दुःखमा रहेका आफ्ना सदस्यका परिवार तथा सदस्यलाई राहत वितरण गरेको छ ।
स्वरोजगार बचत तथा ऋण सहकारी संस्थाले सदस्य मृत्यु राहतकोष तथा सदस्य अवसान बचत कोषमार्फत आइतबार एकैदिन तीनजनालाई सहयोग प्रदान गरेको हो ।
दिवंगत संस्थाकी सदस्य खिनमाया ढकालको गरामनीस्थित घरमा पुगेको संस्थाको टोलीले ढकालका परिवारलाई सदस्य मृत्यु राहतकोष मार्फत २० हजार प्रदान गरेको संस्थाका सचिव मनोज भट्टराईले जानकारी दिए ।
त्यस्तै सदस्य अवसान बचतकोष मार्फत श्रीमान गुमाएकी विमला माङ्मु र पिता गुमाएकी मिना थपलियालाई राहत स्वरुप नगद रु। १०÷१० हजार प्रदान गरिएको बताइएको छ ।
सहकारीका अध्यक्ष केशव बस्नेतको नेतृत्वमा राहत प्रदान गर्न गएको टोलीमा सचिव भट्टराई, सञ्चालक समिति सदस्यद्वय घनश्याम नेपाल, जागिरमान राई लगायत रहेका थिए।
आफन्त गुमाएर शोकमा रहेका सदस्यहरुलाई सानो भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वरोजगारले सदस्यको मृत्युमा दिवंगत सदस्यका आफन्त वा परिवार र सदस्यका बुबा, आमा तथा श्रीमान÷श्रीमतीको निधन भएमा संस्थाको नियमानुसार सहयोग प्रदान गर्दै आएको सचिव भट्टराईले बताए ।
चालु आर्थिक वर्षको यो अवधीमा मात्रै संस्थाले सदस्य मृत्यु राहत कोष र सदस्य अवसान बचतकोष मार्फत १ लाख ८० हजार रकम वितरण गरिसकेको बताइएको छ ।

















