झापा ।
झापा वाह्दशी गाउँपालिका–५ घोडामारामा एक परिवार उपचार खर्चको अभावमा छट्पटाइ रहेको छ । परिवारका अभिवाभवक नारदप्रसाद रिजालको गत साउन ९ गते नरिवलको रुखबाट लडेर गर्धन र ढाँडको मेरुदण्ड भाच्चिएर थला परेपछि परिवार उपचार खर्च जुटाउन नसकेर छटपटाइ रहेको हो ।
रिजाल रुखबाट लडेपछि बिर्तामोडको विएण्डसी र बिराटनगरको न्यूरो अस्पतालमा लगेर परिक्षण गराउँदा ४० देखि ४५ लाख खर्च लाग्ने बताएको आफन्त चन्द्रमणि ढुङ्गानाले बताए । आर्थिक अवस्था अति कमजोर भएका रिजाल परिवारले उक्त रकम जुटाउन नसकेपछि घाइते रिजाललाई घरमै राखिएको उनले बताए ।
घाइते रिजालकी श्रीमती डम्बादेवी रिजालले श्रीमानको उपचारमा सहयोग पुर्याइदिन सवै समक्ष अपिल गरेकी छिन् । मजदुरी गरेर ७ जना परिवारको पालनपोषण गर्दै आएका रिजाल घाइते भएपछि हाल परिवार विचल्लीमा परेको उनकी श्रीमती रिजालले बताइन् । कार्यक्रममा उनले आँसुका ढिका झार्दै श्रीमानको उपचारमा सहयोग गरिदिन आग्रह गरिन् ।
बिर्तामोड–४ को गंगामाया नरवहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाले रिजाल बचाउ अभियान सञ्चालन गर्ने अध्यक्ष भूपाल बस्नेतले बताए । रिजाल निवासमा सोमवार पत्रकार सम्मेलन गरी उक्त अभियान वारे अध्यक्ष बस्नेतले जानकारी दिएका थिए । अध्यक्ष बस्नेतले रिजाल बचाउ अभियानलाई विस्तार गरी विभिन्न उपसमिति निर्माण गर्दै आर्थिक संकलन गरिने बताएका छन् । उनले काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा रिजालको उपचार गरिने जानकारी दिए ।
कार्यक्रममा वाह्दशी गाउँपालिका –५ का अध्यक्ष भूपेन्द्र कटुवाल, नेपाली कांग्रेसका क्षेत्रिय सभापति नविन विमली, स्थानीय गुरुप्रसाद घिमिरे, झमलाल पौडेललगायतले रिजाललाई बचाउन सक्दो सहयोग गर्ने आश्वासन दिए ।