सुनसरी ।
निजी तथा संस्थागत विद्यालयले ‘अनलाइन कक्षा’ सञ्चालन गरेको शुल्क गत वर्षकै अनुपातमा लिन धरान उपमहानगरको कार्यपालिकाले निर्णय गरे पनि विद्यालय सञ्चालहरूको दबावपछि कार्यान्वयनमा आउन सकेको छैन ।
कार्यपालिका बैठकले आइतबार अनलाइन कक्षा सञ्चालन गरेबापत गत वर्षकै अनुपातमा शुल्क लिन पाउने गरी निर्णण गरेको थियो । गतवर्षकै शुल्क लिन पाउने निर्णयमा निजी तथा संस्थागत विद्यालय सञ्चालकहरूले असहमति जनाएका छन् । जसले गर्दा निर्णय कार्यान्वयन तहमा गएको छैन । कार्यपालिकाको बैठकले निर्णय गरेपश्चात् शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवालले प्याब्सन, एनप्याब्सन र एसीसी धरानलाई बोधार्थ दिँदै उपमहानगरको वेबसाइटमा सार्वजनिक गर्न पठाइएको थियो ।
तर, वेबसाइटमा हालसम्म सार्वजनिक गरिएको छैन । उपमहानगरको वेबसाइटमा सार्वजनिक नगरे पनि विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका थिए । विद्यालय सञ्चालकहरूको सङ्गठन प्याब्सन, एनप्याब्सन र एसीसीले कार्यपालिकाको निर्णय मान्य नहुने भन्दै सच्याउन दबाव दिएका थिए । उनीहरूले उपमहानगरले निर्णय नसच्याए तालाचाबी नगरलाई जिम्मा लगाउनेसम्मको धम्की दिएका थिए ।