काठमाडौं ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफु व्यवस्थापकको भूमिकामा नेपाली क्रिकेटमा काम गर्ने बताएका छन् ।

ललितपुरमा पत्रकार सम्मेलन गर्दै पारसले आफु क्रिकेटबाट नटाढिने बताउँदै भूमिकामात्र बदलिने बताए । मंगलबार पारसले अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट विश्राम लिने निर्णय गरेका थिए ।


पूर्व कप्तान पारसले दुई वर्षअघिनै सन्यासको विषयमा सोचेको भएपनि टिमलाई सहयोग गर्नमात्र राष्ट्रिय टिममा बसेको उल्लेख गरे ।

झण्डै १९ वर्ष नेपाली टिमबाट खेलेका पारस १० वर्ष कप्तानको भूमिकामा रहेका थिए । नेपाली क्रिकेटका सफल कप्तानका रुपमा रहेका पारसको कप्तानीमा नै नेपालले टी २० विश्वकप खेल्नेदेखि लिएर एक दिवसीयमा डेब्यु गरेको थियो ।