काठमाडौं ।

  संयुक्त अरब इमिरेट्स (यूएई)ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई विहिवारदेखि प्रवेश खुला गरेको छ । यूएईले आजदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको हो ।


 त्यस्तै यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको जनाएको छ ।

यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, यूएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश भने पाउनेछन् । तर, उनीहरूले यूएई सरकारको अनुमति भने लिनुपर्नेछ ।


 त्यसरी यूएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, यूएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ ।